निकेत ढकालको ‘ऊनि’भाग एक

एस्.एल्.सी. सकिएपछि कलेज जोइन गरेको नि भरखर ६-७ महिना भएको थियो। स्कुल सकिएपछि त कुनै कैदी जैलबाट छुट्दाको अनुभव भएको थियो। यस्तो अनुभव हुनु नि ठिकै त होला, स्कुल मा १३ वर्ष बिताइयो र त्यो १३ वर्ष कस्तो थिए मलाई मात्र थाहा छ। आफु भन्दा धेरै वजनको व्याग बल्लतल्ल बोकेर स्कुल पुगिन्थ्यो। स्कुलको सरहरु कोइ पनि हिटलर भन्दा कम थिएनन्, सानो कुरामा नि बढेमानको गाली त गर्थे गर्थे; त्यस्तै मौका पर्‍यो भने त ७ दिन सम्मा राम्ररी बस्न नहुने गरी लाठी चार्ज गर्थे चुत्तरमा।

फेरी सरले पिट्यो भनेर घरमा सुनाए भने उल्टै गाली खानु पर्ने बाध्यता। प्रिन्सिपल त झन् हिटलर को नि जिजु बाउ थिए। हामी मान्छे होउ कि भेडाबाख्रा छुट्याउन गार्हो पर्थ्यो प्रिन्सिपलको व्यवहार देखेर। काच्चै खाइदेला भन्ने डर। कसम होला सपनामा देखे भने अहिले पनि रातभर सुत्न सक्दिन। स्कुल सकाएर घर फर्कियो; फेरी होमवोर्क गर्न गोरु जोते झै जोतिनु पर्थ्यो। पिडा थियो हजुर पिडा।

यस्तो परिस्थितीबाट फुत्किएपछि खुशी नहुने त कुरै हुन्न। एस.एल्.सी. पछिको ३ महिना पनि कम्ता रमाइलो भएन, कति चाँडै बित्यो बित्यो। फेरी त्यो बेला फेसबुक जस्तो सामाजिक सञ्जालहरु खासै प्रचल्लित थिएनन्। त्यो बेला चलेको भनेको Mig33 र Yahoo Messenger थिए। म भने Mig33 मा झुन्डिन्थे धेरै। बढो रमाइलो लाग्ने Mig। उठे देखि सुत्ने बेला सम्म Mig भनेपछि हुरुक्क म। धेरै साथी नि बनाइयो र एउटा नयाँ संसार सँग नि नाता जोडियो। मज्जा बेग्लै यो सबै कुराहरुको। नचिनेकोसँग नै गहिरो नाता र मित्रताको आभाश, लाग्थ्यो सम्बन्ध नि पहिले देखी गाँसिएको झै।

“ओइ, एक जनासँग बोल्छस Mig33 मा?” मेरो जिग्री भनिने अभी नाम गरेको एक साथी ले मेसेज पठायो Mig मा। अब यस्तो भन्दाभन्दै नि हुन्न भन्ने मुर्खता कसरी गरु र म। मैले नि हुन्छ भनेर फर्कए। “पहिला पार्टी चहिन्छ।” सिधै घुस्स माग्यो त केटोले। “पहिलेको त भन्।” चिन्नु न जान्नुसँग बोल्नको लागि नि के घुस खुवाउनु मैले भनेर मैले सोचे। “एकदम स्पेसल मान्छे हो, पार्टी दिने हो भने मात्र भन्छु।” उस्ले त ढिप्पी ढ नै गर्न थाल्यो। र यता मेरो मनमा उत्सुक्ता बढ्न थाल्यो। शायद उमेरले गर्दा होला र थाम्न सकिन, “हुन्छ, पाइस् पार्टी।

” भनेर रिप्लाई दिए। “तेरो स्कुलको क्रस (Crush), तेरो उनीसँग बोल्छस्?” उस्ले त जिस्केर भन्या होला लाग्यो तर म चाँही एकछिन अक्कबक्क भए। के भनुम भनुम भो, फेरी अभी जिस्केको हो कि जस्तो नि लग्यो। फेरी उस्ले जिस्किदैन जस्तो लाग्यो यस्तो कुरामा। “कसम?” मैले दङ्ग भएर सोधे। किन नहुनु म यस्तो दङ्ग, एक वर्ष पछि बोल्न पाउदै थिए। ४ क्लास देखी चिनेको उनलाई, हाम्रो नाता नै शब्द मा कोर्न सकिन्न, पहिलो माया भन्या पहिलो नै हुने। स्कुल पछि उनी मेरो कन्ट्याक्ट् म थिइनन्, र हामी बिच कुराकानी नि भएको थिएन। सधैं त भन्न नमिल्ला, तर एक्लो हुँदा जहिले उनको याद आउँछ। म शब्दमा पोख्‍न सक्दिन की म उनलाई कती सम्झिन्छु भनेर। “कसम हो पख् म ग्रुप क्रिएट गर्छु।” यती मेसेज पढेपछि मैले संसारको सबै खुशी पाएको अनुभव गर्दै थिए।

%d bloggers like this: