पढेको छैन तर कतारमा इन्जिनियरलाई काम सिकाउँछु

बिष्णु पराजुली/दोहा कतार ।

परदेशको झोला बोकेर नेपाल छाडेको पनि ९ वर्ष भैसकेछ । मेरो घर काभ्रेपलान्चोक भएपनि विदेश आउनु पहिले काठमाडौं स्वयम्भूमा बस्थें । सानै देखि इलेक्ट्रिसियनमा रुची थियो ।

Bishnu%20Parajuli पढेको छैन तर कतारमा इन्जिनियरलाई काम सिकाउँछुकाठमाडौंको एक इनिसच्युटमा तालिम लिएँ । तालिम पछि स्वयम्भू, पाँचधारा आसपासका क्षेत्रका घरमा आफैं कन्ट्याक गरेर काम गर्न थालें । काम राम्रै चलिरहेको थियो । आफ्नो रुचिको काम भएकाले बिहानै बाट काम सुरु गरेपनि रात परेको पत्तो पाउँदिनथें ।

त्यतिबेला म २१ वर्षको थिएँ । इलेक्ट्रिक पसल पनि सुरु गरेँ । तर बाहिरको काम र पसल एक साथ चलाउन गाह्रो भयो । दुई वर्ष पछि पसल बन्द गरेँ । कामको तनावले पसल बन्द गरेपनि अरु तनावले भने छाडेन । पसल सुरु गर्दाखेरिको ऋण तिरिसकेको थिएन ।

पसल हुन्जेल यहिबाट तिर्छु भन्ने आँट थियो । तर पसल बन्द गरेपछि ऋणको तनाव थपियो । अनि मैले वैदेशिक रोजगारीलाई रोजेँ ।

मलाई त्यतिबेला विदेश हिँड्नको हतार थियो । जति सक्दो छिटो विदेश जाने काम गर्ने र ऋण तिर्ने बाहेक अरु सोच मसँग थिएन । त्यहि भएर कुन राम्रो कुन नराम्रो कम्पनी केहि पनि बुझिन । ७ सय रियालमा दुवई आएँ । आश थियो राम्रो काम गरेपछि तलव बढाउँछ । मैले सोचेको थिएँ, राम्रो काम गरेको छु । यसको मुल्याँकन हुने छ र मेरो तलव बढ्ने छ ।

तर मैले सोचे जस्तो कहाँ हुँदो रहेछ र । जति राम्रो काम गरेपनि माथिल्लो तहकाले नै त्यसको फाइदा पाउँदा रहेछन् । तर मैले त्यहाँ तलव मात्र होइन, काम पनि सिक्नु थियो । त्यसैले मैले एउटा तालिम दिने ठाउँको रुपमा पनि बुझेको थिएँ । त्यो धेरै राम्रो स्कुल थियो । जहाँ दैनिक प्रयोगात्मक तालिम हुन्थ्यो र महिनाको अन्त्यमा केही तलब पनि ।

ठुला–ठुला एअरफ्यान हेर्दै डर लाग्ने जस्लाइ बडा बडा केवल जोडेर चलाउनु पथ्र्यो । जब त्यो चल्न थाल्थ्यो एउटा पहाड नै हल्लिने गरेर कराउथ्यो । तर म आज पनि त्यहि कम्पनीमा काम गरिरहेको छु । जुन कम्पनी मा ९ बर्ष पहिला सुरुवात गरेको थिएँ । फरक यती हो कि पहिला सिक्थे, अहिले सिकाउँछु । पहिला कामदार थिएँ, अहिले सुपरभाइजर छु ।  पहिला दुवइमा थिएँ, अहिले कतार मा छु ।

मलाइ गर्व छ आफ्नो काम प्रती । किनकि यहाँ इन्जिनियर पढेर आउनेहरु पनि म सँग सिक्छन् । अहिले म यहाँका ठुला ठुला भवनमा पानी तान्ने पम्प देखि भेन्टिलेसन फ्यानहरुको नक्सामा भएका गल्ती हेर्ने देखि डिजाइन गर्ने सम्म गर्छु ।मेरो काम बाट अरु खुसी छ्न छैनन्  तर म आफू भने अत्यन्तै खुसी छु ।

म यहि काम नेपालमा गर्न चाहन्छु । यहाँ आएर सिकेको सीपलाई त्यहा प्रयोग गर्न मन छ । म जस्ता सीप भएका तर सर्टिफिकेट नहुने अरुपनि धेरै हुनुहुन्छ होला । कस्ले बुझ्ने यो समस्या । के हामीले बल छउन्जेल परदेशमै पाखुरा बजार्ने, अरुको गुलामी गर्ने मर्ने बेलामा मात्रै नेपाल फर्किनु पर्ने हो ?

-बिष्णु पराजुली, काभ्रेपलान्चोक ज्याम्दी, हाल दोहा कतार ।

%d bloggers like this: