मलेसियाकाे जेलबाट फर्केपछि

सन् २०१५ अक्टोवर १२ का दिन हतारहतारमा काम गरिरहेको थिएँ । कामको चटारोले शरीर पसिनाले भिजेको थियो । मलेसियाकै एकजना स्थानीय स्टाफ गाली गर्दै थिइन् । अचानक मेरो हातको चक्कुले उनले बोकेको फाइलमा ठक्कर खायो ।

उनी मलाई कुट्यो भन्दै चिच्याउँदै एचआर अफिसतिर दगुर्दै गइन् । एचआरबाट मलाई बोलाइयो । मैले आफू निर्दोष भएको जिकिर गर्दै सम्झौता गर्ने कोशिस गरेँ । तर एचआरका भारतीय मूलका मलेसियनले म दोषी रहेको जिकिर गरे । मलेसियन नागरिक र म प्रहरी स्टेसन गयौं । त्यहाँ मेरो दुई वटा रिपोर्ट बन्यो । एउटा साइवर क्राइम र अर्को कुटपिट । मेरो फेसबुकमा पनि निगरानी राखेको रहेछ । जीवनमा पाहिलो पल्ट मेरो हातमा हतकडी लाग्यो । indra-jijibisa-1 मलेसियाकाे जेलबाट फर्केपछि

त्यहि दिन केहि घण्टापछि मलाई प्रहरीले अर्कै ठाउँमा लग्यो । साँघुरो कोठा भित्र सारा तनमन  खुम्च्याएर बस्नुपर्ने । अक्टोवर १५ का दिन अदालतमा लग्यो । त्यो दिन मेरो तारेख मात्र तोक्यो ।

त्यसपछि मलाई संगाइ उडाङ जेल मलक्का सारियो । त्यहाँ केहि नेपाली साथीहरु कृष्ण परियार धनकुटा, खड्क विक मुगु, प्रकास पोख्रेल उर्लाबारीलगायत जेल परेका रहेछन् । कमल तामाङ पनि एक नेपालीको ज्यान मारेको अभियोगमा जेलमै रहेछन् ।

मैले भेट्दा नौ महिना जेल सजाय भोगिसकेका कमलको सजाय भने तोकिएको थिएन । संगाइ उडाङ जेलमा केहि हप्ताको बसाइपछि फेरि मलाई मलाका अदालत वातुपहात ल्याइयो । त्यहाँ दुई जना नेपालीसँग भेट भयो ।

एकजना दैलेखका मनलाल घर्ती मगर र अर्का एक थिए । ती अर्का नेपालीलाई सुपरभाइजरले गाली गरेपछि गाडीको टायरको हावा फालेको आरोप लागेको रहेछ । उनीसँगै मलाई अदालत लगियो । उनलाई जेल बस्ने भए तीन महिना र जरिवाना तिर्ने भए आठ सय रिगिंट फैसला भयो ।

मलाई कुटपिटको आरोपमा दुई महिना र युट्युवमा भिडियो अपलोड गरेवापत चार महिना जेल सजाय तोकियो । कम्पनीमा काम चालु रहेको अवस्थामा भिडियो खिची मैले युट्युवमा राखेको थिएँ । तर पहिले नै कम्पनीसँग सम्झौता गरेर भिडियो हटाइएको थियो ।

त्यसपछि मलाई जोहरको कुलुवाङस्थित काम्पोङ गाजाहा जेलमा लगियो । यो जोहर राज्यको सवैभन्दा ठूलो जेल हो । यहाँ ७/८ हजार कैदी राखिन्छ । त्यस जेलमा पुगेपछि धेरै नेपालीहरु भेटें ।

राज राई मोरङ, भोलाप्रसाद नेपाल पोखरा, भिम पुन मगर प्यूठान, लोकेन्द्र राई धनकुटा, रामहरी खड्का सिन्धुपाल्चोक, घमतसिं तामाङ नुवाकोट, उज्वल राई नुवाकोट, समिक गुरुङ नवलपरासी, दिपक थापा बाँकेलगायत अन्य दर्जनौं नेपालीहरु थिए । उनीहरुमध्ये धेरैले आफन्तसँग सम्पर्क गर्न सकेका रहेनछन् ।

अन्जानमा जेल परेका नेपालीहरुलाई कुनै संघसंस्था र सरकारी निकायले सोधिखोजी गर्दैनन् । कुलुवाङ जेलमा सरेको एक महिनापछि मलाई भेट्न खोटाङका दिनेश थापा र सुर्खेतका भरत शाही आउनुभयो । जेलभित्र आफन्त साथीहरु भेट्न आउँदा पनि खुसीको सिमा नै नहुने ।

त्यहाँ बस्दा अनुशासित रहनुपर्दो रहेछ । नत्र कडा सजाय भोग्नु पर्ने । बिहान ६ बजे सवै कोठाका ढोकाहरु खोलिन्छन् । अनि एकै ठाउँमा जम्मा भएर गन्तिको लागि लाइन बस्नुपर्छ । यो गन्ति ४५ मिनेटसम्म हुन्छ ।

विहानको खाजा दुई टुक्रा प्लान्टा ब्रेड, फिक्का चिया वा कफी । कहिलेकाहीँ मात्रै जाउलो वा दालको झोल दिँदो रहेछ । त्यहाँ अधिकांश कैदीहरु इस्लाम समुदायका भएका कारण जेलभित्र पनि दिनमा २ पटक प्रार्थना गर्दा रहेछन् । उनीहरुका लागि जेल प्रशासनले राम्रै व्यवस्था गरेको रहेछ ।

जेलभित्र हिन्दूहरुका लागि एक ठाउँमा जम्मा भएर धर्मको बारेमा छलफल गर्ने व्यवस्था थियो । मलेसियाको जेलहरुमा कति छन् नेपालीहरु ? यो तथ्याङ्क कोहिसँग छैन । इन्डोनेसियाले मलेसियाको जेलमा रहेका आफ्ना नागरिकको लागि ठूलो बजेट छुट्याउँदो रहेछ । सरकारी निकायको पनि चासो राम्रै रहेछ । उनीहरुको खासै दुःख सुनिएन ।

हामीले भने सहयोग गर्ने निकाय देख्न पाउँदैनौं । जेलभित्र सार्वजनिक विदा कटाउँदा २० दिनको एक महिना मानिन्छ । म करिव ६ महिना जेल बसेँ । आफ्नो पासपोर्ट र भिसा हुँदाहुँदै पनि कम्पनी र प्रहरीले पासपोर्ट लुकाइदिए । त्यसपछि मलेसिया बस्ने वैधानिक बाटो टुट्यो ।

घर फर्किनको लागि जेलबाट अध्यागमन विभागको घर फिर्ति केन्द्रमा झण्डै तीन महिना बस्नुपर्‍यो । त्यहाँ म जस्तै जेल सजाय काटेर पनि बन्दी जीवन बिताइरहेका थुप्रै नेपाली थिए । खानबस्नको कुनै व्यवस्था छैन् ।

म क्याम्पमा आएको दुई महिनापछि मात्र एकतर्फी यात्रा अनुमती पत्रको लागि फारम भर्न पाएँ । नेपाली दूतावासबाट अनुमती पत्र आउन एक महिना लाग्यो । दिनेश थापा, भरत शाही, भूमिराज पराजुली, विपिन राई, किरात राई यायाेक्खा लगायतकाको सहयोगमा नेपाल फर्किन सकें ।

मलेसियामा दर्जनौं सामाजिक संस्थाहरु समाज सेवाका नाममा खुलेका छन् । आफ्नो विज्ञापन गर्न कति पनि नहिच्किचाउने ती संस्थाका पदाधिकारीहरु वास्तविक समाज सेवा भने गर्दैैनन् । जेलभित्र रहेका तर कतै सम्पर्क गर्न नसकेका पीडितलाई न यस्ता संघसंस्थाले सहयोग गरेका छन् न त नेपाली दूतावासले नै ।

कोहलपुर बाँकेका दिपक थापा, पोखराका दिपक श्रेष्ठ लगायत थुप्रै पीडित उदाहरणका पात्र छन् । मलेसियाका अदालतमा नेपालमा जस्तो वादी प्रतिवादी हुँदैन । एकतर्फी फैसला हुन्छ । उजुरी दिनेले उजुरी गरेपछि सम्पूर्ण काम प्रहरी र एकतर्फी वकिलको मात्र हुन्छ ।

अदालतमा जबरजस्ती दोस स्विकार्न दवाव दिइन्छ । आफ्नो केहि नचलेपछि गल्ती स्वीकारेर जेल जानुको विकल्प हुँदैन । तर ठूल्ठूला मुद्दामा भने वकिल राख्न सकिन्छ । मलेसियाका विभिन्न जेलमा रहेका नेपालीका समस्या बुझेर समाधानका लागि दूतावासले पहल नगर्ने र संघसंस्थाले पनि सहयोगको काम नथाल्ने हो भने मैले जस्तो सास्ती अरु थुप्रै नेपालीले भोग्नुपर्छ ।

%d bloggers like this: