मेरो क्षात्रा वासको जिवन-अब शून्य हुने भो भन्नुहुन्थ्यो ।

झल्याँस्स भएँ । जब चिरञ्जीवी दाजुले माधव बुबालाई सम्झाउनुभयो ।

 

माधव बुबा र मीना मुमाविनाको आश्रमको बसाइ नूनविनाको तरकारीझैँ खल्लो थियो

, तथापि भावावेशमा मैले वहाँहरूको नाम उल्लेख गर्न बिर्सिएछु ।

ठिक नै भयो वहाँहरूका लागि मैले छोटो कुरा लेखेर पुग्ने थिएन, विस्तृत लेख्नुपर्ने थियो ।

गुरुकुलमा ०२ गते प्रवेश गरेको भए पनि मलाई माधव बुबासँगको अनुभव ०४ गतेदेखिको मात्र छ ।

प्रवेशको लिखित परीक्षा चलिरहँदा माधव बुबा बेला– बेलामा आएर ‘ल लेख लेख’ भनेर सम्झाउनुभएको याद छ ।

त्यसको भोलिपल्ट वा पर्सिपल्ट वहाँहरूलाई गुरुकुलका अग्रज छात्रहरूले स्वस्तिवाचनपूर्वक बिदा गरेको पनि मलाई सम्झना छ

। दशैँ तिहारको बिदापछि फेरि पनि बुबा– मुमा देवघाट जानुभयो ।

हरेक पटक गल्तीहरूमा हामीलाई माधव बुबाको उपस्थितिले सचेत गराउँथ्यो ।

चिरञ्जीवी दाइले भनेझैँ माधव बुबाका गालीहरू र केही पिटाइहरू हाम्रो भविष्यको निर्माणका लागि इट्टा थिए ।

वहाँले बारम्बार गाली नगरेको भए र बारम्बार वहाँको झापडको डर नलागेको भए सायद हामी पढ्नमा लगनशीलतापूर्वक प्रेरित हुने पक्का थिएनौँ ।

शास्त्र भन्छ— सामृतैः पाणिभिर्घ्नन्ति गुरवो न विषोक्षितैः ।

लालने बहवो दोषाः ताडने बहवो गुणाः ।।

 

माधव बुबाको अमृतमिश्र त्यही ताडनका छिटाले हामी यत्तिका बन्यौँ ।

सायद हामीभित्र त्यो सम्पूर्ण अमृत सँगेल्न सक्ने पात्रता भए हामी अझ ठूला बन्ने थियौँ ।

मीना मुमाबाट पाएको मातृवात्सल्यको कसरी वर्णन हुन सक्छ र ?

कुनै मातृवात्सल्यको वर्णन गर्न सकिँदैन । हामी गुरुकुलवासीहरूका लागि माता– पिता वहाँहरू नै हुनुहुन्थ्यो ।

बिरामी हुँदा आएर ख्याल गर्ने, सन्ध्या–आरतीको बेला हल्ला गर्दा सम्झाउनेदेखि लिएर मेरा प्रगतिहरूमा दिल खोलेर खुशी हुने वहाँहरू नै हुनुहुन्थ्यो ।

सबैलाई टीका लगाइदिँदा मुमाले हरेक पटक मेरो गालामा पनि लगाइदिनुहुन्थ्यो । मलाई यो सबै हिजोझैँ लाग्छ ।

एस्.एल्.सी. को परीक्षा दिन जाने बेला रातो टीका पनि मुमाले नै लगाइदिनुभयो ।

म सायद कक्षा ११ मा पढ्थेँ । मुमा भनिरहनुहुन्थ्यो, तिमी त भागवत भन्ने पण्डित हुनुपर्छ ।

वहाँले नै मलाई समातेर लगेर भागवत प्रवचन गर्न लगाउनुभयो । मैले केही समय बिहानको सत्सङ्ग चलाएँ ।

पछि म विद्यालयमा पढाउन व्यस्त हुन थालेपछि त्यो क्रम टुट्यो । कालक्रममा मैले त्यो बाटो भुलेँ, र वहाँको मलाई प्रखर वक्ताको रूपमा देख्ने सदिच्छा आजसम्म पूरा हुन सकेन ।

म मुमालाई देख्दा हरपल यही सम्झन्छु । मुमा र केही समय फूल टिप्ने साथी थियौँ ।

वहाँले त्यो बेला मलाई मेरो विगत र मेरो भविष्यका बारेमा यति सम्झाउनुभयो, त्यो सबै चित्रझैँ मेरो दिमागमा घुमिरहेछ ।

बारम्बार मुमा भन्नुहुन्छ, तिमी यत्रो भइसक्यौ, अस्तिजस्तो लाग्छ मैले गालामा टिका लगाइदिएको ।

भावविभोर नभई रहन सक्दिनँ वहाँहरूबाट पाएको अगाध प्रेम सम्झेर पनि ।

 

मैले पनि माधव बुबाबाट गाली खाएको छु, गन्ने नै हो भने वहाँबाट मैले जम्मा ८ झापड भेटेको छु ।

यस्तो लाग्छ, त्यही आशीर्वादले पछिल्लो चरणमा म वहाँको अत्यन्त प्रिय र निकट भएको थिएँ ।

र अर्को स्मरणीय कुरा के छ भने माधव बुबाको झापड भेट्ने बेलामा पनि चिरञ्जीवी र म साथमा थियौँ ।

 

चिरञ्जीवी र म हरेक सुखदुःखमा साथमा नै थियौँ र रह्यौँ । उनबाट मैले मित्रता पनि पाएँ र अभिभावकत्व पनि पाएँ ।

पोहोरसाल बुबा र मुमा बिग्रँदो स्वास्थ्यस्थितिका कारण आश्रममा धेरै बस्न पाउनुभएन । मुमा पनि न जाने किन मसँग पहिलेझैँ बोल्न छोड्नुभएको थियो ।

मुमाको त्यो चञ्चले मुख किन त्यसरी मौन भयो ? त्यो सम्झेर एकान्तमा कैयौँपटक आँसु बगाएको छु । कतिपय अवस्थामा त मुमाले बोलाउनुहुन्छ कि ?

भनेर पनि नजिक पर्ने जमर्को गरेको हुँ, तथापि न जाने मबाट केही गल्ती भएको थियो, अथवा वहाँको मनमा कुनै त्यस्तो चोट परेको थियो, त्यो बुझ्न सक्दिनँ ।

तथापि मुमाको मातृवात्सल्यको जन्म–जन्मान्तर ऋणी रहनेछु । बुबाको अगाध स्नेहले पनि मलाई मुमाको वात्सल्यको ऋणले झैँ पछ्याइरहनेछ ।

फेरि पनि, गुरुकुलको बसाइकै क्रममा छुटाउनै नहुने नामहरू थिए नुरापति गुरु र दशरथ बा ।

बसाइको उत्तरार्धकालको तीन चार वर्ष लगभग नुरापति गुरु साथमा हुनुभयो ।

नुरापति गुरुबाट हामीले प्रत्यक्ष कक्षा लिन त पाएनौँ, तथापि छलफलका क्रममा शास्त्रीय एवं प्राविधिक विविध विषयमा ज्ञान पायौँ र पाएका सूचना बाँड्यौँ ।

वहाँ गुरु भएर पनि मित्र हुनुहुन्थ्यो, वहाँको साथ र सहयोगलाई अघिल्लो स्मरणमा मैले कसरी भुलेँ ? मलाई थाहा छैन । त्यस्तै दशरथ बा पनि अविस्मरणीय हुनुहुन्छ ।

शास्त्रीमा पढिरहँदा सेतो कपडा लगाएर लामो दाह्री पालेर आश्रम आइरहनुहुन्थ्यो । सुरुवातमा हामी वहाँलाई लेखनाथ बा भन्थ्यौँ र वहाँसँग त्यति धेरै हिमचिम थिएन ।

तर जब वहाँ तीर्थाटनपछि दाह्री कपाल सफा–चट गरेर आउनुभयो, तब वहाँ हामीभन्दा बढी ठिटो पारामा देखिनुभयो ।

वहाँको पुस्तकालय व्यवस्थापनमा देखिएको लगनशीलताबाट हामीले सिक्नुपर्ने पाठ लामो थियो ।

अवकाशप्राप्त जिन्दगी (रिटायर्ड लाइफ) को त्यस समयमा ओर्लंदो उमेर र विविध शारीरिक रोगका बाबजूद पनि वहाँ तन्दुरुस्तझैँ काममा खटिरहनुहुन्थ्यो र हामीहरूसँग पनि मित्रवत् व्यवहार गर्नुहुन्थ्यो ।

वहाँबाट मित्रवत् प्रेम प्राप्त गऱ्यौँ, त्यसलाई कहाँ भुल्न सकिन्छ र ?

त्यसैगरी बिर्सेछु नरेश्वरानन्द बाबालाई पनि जसले प्रत्येकपटक हजुरहरूको पढाइ सकियो रे जाने रे नि त,

अब शून्य हुने भो भन्नुहुन्थ्यो ।

 

एक वर्षभन्दा बढी वहाँ हामीसँग बसेको पक्का भएको छैन र पनि छोटो समयमा वहाँबाट पाएको आत्मीयता र आशीर्वाद भुलेछु,

अहिले झलझलती याद आइरहेछ । ऋषि गुरुको नाम पनि मैले बिर्सनु पक्का हुने थिएन ।

त्यस्तै हामीलाई कक्षा ८ देखि १० सम्म व्याकरण विषयको अध्यापन गर्ने कुलशेखर गुरुलाई भुलेँ भने म अधुरो रहने पक्का छ ।

यस्ता धेरै हुनुहुन्छ जो अति प्रिय हुँदाहुँदै पनि तत्काल स्मृतिपटलमा नआएको हुनाले छुट्नुभएको छ ।

 

चिरञ्जीवी दाइले भनेझैँ देवघाटको यो १४ वर्षसम्मका स्मृति यति सानो लेखाइमा अटाउनेवाला छैनन् ।

यस्तो लाग्छ देवघाटका हरेक विन्दु विन्दुसँग एक–एकओटा कहानी जोडिएका छन् ।

जसमा पात्रहरू पनि विविध आउँछन् ।

ढोकाबाट निस्कनेबित्तिकै बाटोको दुईतर्फबाट नारायण गर्ने माताजीहरू

जसको नाम केहीको नाम जान्दिनँ र विस्तारको भयले पनि यहाँ लेख्न असमर्थ छु,

वहाँहरूलाई कहाँ भुल्न सक्छु र ? वहाँहरूकै आशीर्वादले हामीलाई बजबुत बनाउनेछ,

हामीहरूका हरेक पाइला उज्यालोतर्फ लम्काउनका लागि हरेक कुराहरूले मद्दत गर्नेछन् ।

अर्को अविस्मरणीय याद भनेको के हो भने म केवल महेश आश्रमको मात्र विद्यार्थी रहेनछु, देवघाट छोडिरहँदा बोध भयो ।

 

म समग्र देवघाटको छात्र रहेछु । चाहे त्यो गलेश्वर होस्, चाहे त्यो हरिहर होस् ती दुवै मेरा विद्यालय रहेछन् ।

आत्मानन्द गुरुजी, ज्ञानानन्द गुरुजी, अद्वैतानन्द गुरुजी, ब्रह्मचारी सुभावचैतन्य गुरु सबैलाई मैले भुलेर हुँदैन ।

सीताराम गुरु, नवराज गुरु, अर्जुन गुरु, आनन्द गुरु, कृष्णहरि दाइ सबै मेरो बसाइका अङ्ग हुनुहुन्छ ।

गलेश्वर र हरिहरमा अध्ययन गर्ने साथीभाइहरू सबै अविस्मरणीय छन् ।

 

नन्द, राजेश, नारायण, माधव, सुदर्शन, सुदेव, प्रदीप मामा, सन्तोष, आत्मीय रामहरि लगायत आत्मीय भाइ– मित्रहरूसँग बिताएका पलहरू जीवनभरका लागि सम्झेर तुष्ट हुने माध्यम हुनेछन् ।

त्यस्तै मनोज, गोविन्दगोपाल, रत्न, कृष्णदेव, सुनील, योगराज, सुमन, कृष्ण लगायत हरिहर आश्रममा बस्ने भाइमित्रहरूसँग गरेका कुराकानी तथा बिताएका पल चाहे पनि बिर्सन सकिँदैन ।

अन्त्यमा, यो लेखमा मैले केवल देवघाटको बसाइसँग जोडिएका व्यक्तिहरू जोडेको हुँ । धेरै छुट्नुभएको छ, जानकारी पाऊँ । जोड्नेछु ।

देवघाटको बसाइसँग जोडिएर मसँग जोडिएका, देवघाटसम्म मलाई पुऱ्याउन मद्दत गर्ने र त्यो पुण्यभूमिको बसाइका क्रममा मलाई सानो ठूलो भौतिक र भावनात्मक सहयोग गर्ने सबै प्रिय–मनहरूप्रति नतमस्तक रहने छु ।

अन्त्यमा भगवान् विद्येश्वरका कृपाले हामी कहिले पनि गलत बाटोमा नलागौँ, लागेमा गुरुजीको अनुहारको स्मरण होस् भन्ने सदिच्छाका साथ………………………..

%d bloggers like this: