लघुकथा:आकृति & यात्राको त्यो दिन।(सुधिर कुमार सुमन)

लघुकथा:आकृति
सुधिर कुमार सुमन

“पहिले कलेजमा मलाइ लप पार्ने बेलामा त खुब पछि लाग्याथ्यौ।हप्तामा १ चोटि घुम्न लैजान्थ्यौ।खै आजकल त घुम्न जान नपाएको पनि जुग भैसक्यो”।श्रीमतिले न्याउरो मुहार बनाएर गुनासो पोखेकी थिइन।हुन पनि हो नि।कलेज लाइफमा कहिले शान्ती स्तुपा,कहिले सराङकोट ,कहिले ताल बराही,लभ्लि हिल हाम्रो माया साटासाट गर्ने थलो थियो।अर्मलाको जङल जङल हिडेर माथी कोटमा पुगेर मायाको गफ गर्न कति रमाइलो हुन्थ्यो।एक दिन माछापुच्छ्रे देखाएर हेर त काले माछापुच्छ्रे मा बाघ देखिन्छ नि भनेकी थिइन उनले।खै कुन्नी मेरो आँखा ले बाघ कहिल्यै देखेन।”हैट नचाहिने कुरो गर्छौ खै बाघ” भनेर जिस्किने गर्थे म पनि।”तिमी जति बेला पनि मलाइ नै हेरिरहन्छौ अनि कसरी देखिन्छ त हिमालमा बाघ”।उनी पनि के कम जिस्की हाल्थिन।

यसपाली छुट्टिमा पुराना दिन फेरि फर्काउने मनासय ले पोखरा तिरै घुम्न जाने योजना बन्यो।तन्नेरी हुदा अरुले के भन्छन भनेर हात समाउन नदिने उनी आजकल चाहिँ यो बुढेसकालमा पनि के हात समाउने हैट भन्थिन।यसपाली पनि उनले माछापुच्छ्रे देखाएर भनिन”उ हेर त बाघ कस्तो टलक्क टल्किएको छ”।अह मैले जमनामा पनि बाघ देखिन अहिले पनि देख्न सकिन।”हैन साच्ची बाघको आकृती देखिन्छ र भन्या बुडि?मैले त जति हेरेपनी देख्दिन त”।मैले सिरियस भएर प्रश्न सोधे।”खै आजसम्म त देखिएकै छ क्यारे।अब ५/७ बर्ष पछि त मेरो आखाले पनि देख्दैन होला।पहिले को हिमाल र अहिले को हिमालमा धेरै अन्तर देख्दै छु म त।यो ग्लोबल वार्मिङ को कारणले अब केही बर्ष पछि त त्यो बाघ लोप नै हुन्छ होला।तिमिले त कहिले पनि बाघको आकृती थियो भनेर थाहा पनि नपाउने भयौ”।श्रीमतिले मेरो गिल्ली गर्दै भनिन।
मैले पनि मौका पाएको बेलामा भनी हालें।”माछापुच्छ्रे मा बाघ नदेखेर के भो त बुडि।बेला बेला तिमी रिसाएको बेलामा तिम्रो आँखा मा शेर देख्छु म त”।

लघुकथा:यात्राको त्यो दिन।

यो मन लघुकथाको फ्यान भएको छ आजकल।जति बेला पनि मोबाइल निकालेर फेसबुकमा लघुकथा पढेर बस्ने गर्छ।आज पनि काठमान्डौ को लोकल बस चडेर मोबाइल निकालेर लघुकथा कुनो भन्ने पेज मा कथा पढिरहेको थिएं।लाइक कमेन्ट गरिरहेको थियो।
एक्कासी साथैमा एउटा सुन्दरी बस्न आइपुगिन।
“दिदी महिला सिट खाली छ।यता बस्दिनुस न अहिले अर्को प्यासेन्जर राख्नु पर्छ त्यो सिटमा”।खलासी भाइले सम्झायो।”के रे तिमिले मलाइ महिला भनेर हेपेको?म आरक्षण चाहिने जस्तो महिला हैन बुझ्यौ?आफुलाइ जता मन लाग्छ तेतै बसिन्छ”।सुन्दरिले साफ झपारिन।
म यता लघुकथा हरुमै ब्यास्त थिए।एक्कासी आँखा यात्रामा केटि परि भनेर मख्ख पर्दा आफ्नो पर्स चोरी भएको लघुकथामा पर्यो।पापी मन के के पो सोच्न थाल्यो।तेत्रो सिट खाली हुदा पनि मेरै आडमा आएर बस्नु पर्ने।केही त गड्बड छ भन्ने लाग्यो मनमा।तर के गर्नु अर्को सिटमा जाउ भनेपनी सबै भरिएको थियो।एउटा उभिरहेकी दिदिलाइ सिट छोडिदिए र आफू उभिए।मनमा कुरा खेलिरहेको थियो।
केही छिनमा महिला सिट खाली भयो।जे पर्यो पर्यो भनेर तेतै पुठो टेकाए।भाग्यमा आनन्दले लेख्न बस्या लेख्या भए पो।एउटा महिलाको आगमन अर्को स्टेसन आइनपुग्दै भयो।दिदिले भनिन”भाइ यो त महिला सिट हो खै छाड्नुस।पुरुष भएर महिला सिटमा बस्न लाज लाग्दैन”।म के बोलौं के बोलौं भए एक्कासी मुखबाट फुत्कियो।”म पनि दोश्रो लिङी हो दिदी जता बसे पनि पाइन्छ”।बसका सबै मेरो कुरो सुनेर हासें।
संयोगले म झर्ने ठाउँ र अगिको सुन्दरी झर्ने ठाउँ एकै रहेछ।उनी मेरै पछि पछि थिइन।घर जाने चोक मा पुग्न लागेको थिए पछाडी बाट सुन्नुस त भन्ने आवाज आयो।म पछाडी फर्केर हेर्दा उनै सुन्दरी मलाइ बोलाउदै थिइन।”सुन्नु न यहाँ अस्मिता ढकालको घर कता होला?म उनको बिहेमा आएको घर नै चिन्न सकिन”।म अघि बसमा आफुलाइ दोश्रो लिङ्गी भनेको सम्झिएर लाजले भुतुक्क भए।अगि चोर जस्तो सोचेको सुन्दरी त आफ्नै दिदिको बिहेमा पो आएकी रहेछीन।

your one feedback help us to work even harder

%d bloggers like this: