विदेशमा दुःख पाएपछि दलाललाई विश्वास गरेकामा पछुतो लाग्यो

नेपालमा हुँदा विदेश भनेको त के के न होला भन्ने सोच्ने म विदेश पुगेपछि फरक अनुभव लिएर फर्किएको छु । कृषि पेशाले नै गुजारा चलाउने परिवारमा जेठो छोरोको रुपमा जन्मिएको म परिवारको खुशी खोज्दै २०७१ सालमा मलेसिया गएँ ।bhim1 विदेशमा दुःख पाएपछि दलाललाई विश्वास गरेकामा पछुतो लाग्यो

एक लाख ५६ हजार लिएको एजेण्टले मलाई लगभग नेपाली ४० हजार रुपैयाँ जति तलव हुने भन्दै मोवाइल र घडी प्याक गर्ने काम हो भनेको थियो । मैले पनि होला नै भन्ने सोचें । तर मलेसिया पुगेपछि न एजेण्टले भने जस्तो भयो न त मैले सोचे जस्तो नै ।

एक त ठाउँ नै एकदम फरक अनि त्यति मात्रै होइन कसले के भनिरहेको छ भन्ने केहि बुझिँदैनथ्यो भाषा नजानेकाले । तर काम गर्छु भनेर गएकाले कामका लागि तयार त भएँ । काम चाहिँ रेष्टुरामा सफा गर्ने, सामानहरु मिलाउने र रेष्टुरेण्ट सजाउने पर्यो ।

म मात्रै नभएर अरु चारजना नेपालीले पनि भनेको भन्दा फरक यस्तै काम गरिरहेका थिए । भर्खर खोलिएको नयाँ रेष्टुरेण्ट भएकाले तलव जम्मा १२ सय आरएम अर्थात ३० हजार रुपैयाँ मात्रै भयो ।

त्यतिबेला मैले रेष्टुरेण्ट नयाँ छ विस्तारै बढ्दै जान्छ भन्ने लागेर मेहनत गरेरै काम गरिरहें । तर तलव बढ्ने मेरो आशा तीन महिनामै टुक्रियो । रेष्टुरेण्ट एकाएक बन्द भयो ।

रेष्टुरेण्ट बन्द भएपछि पनि त्यही रेष्टुरेण्टको साहुले अर्को कम्पनीमा काम लगाई दियो । त्यो काम पहिलाको भन्दा गाह्रो भयो । नयाँ काम त हिलो सोर्ने, माटो बोक्ने र घाँस काट्ने पो पर्यो । एउटा कन्टनेर जस्तो भाँडा भित्र सुत्नु पर्ने, खाना पनि आफैले किनेर खानुपर्ने ।

त्यसमाथि तलब पनि जम्मा २० हजार रुपैयाँ मात्र भएपछि आफैंलाई असहाय जस्तै लाग्न थाल्यो । धेरै पैसा कमाएर परिवारलाई खुसी अनी सुखी राख्ने आशमा केही कुरा बुझ्दै नबुझी आँखा चिम्लेर एजेण्टलाइ विश्वास गरेर विदेशिएकोमा त्यति बेला मलाई धेरै पछुतो लाग्यो । तर मलाई पठाउने एजेण्ट गाउँकै दाई थियो अनि कसरी विश्वास नगर्नु ?

काम धेरैनै गाह्रो भएपछि म बिरामी नै भएँ । उपचार गर्न पैसा थिएन । त्यसैले कम्पनीमा उपचारका लागि अनुरोध गरें । तर सुपरभाइजरले केही कुरा सुनेन । बरु उल्टै अपशब्द प्रयोग गरेर गाली गरेपछि साथीले आफूले लगाएको घडी बेचेर उपचार गराइदिए ।

यसरी विदेशमा अरुको दास बनेर बस्नु भन्दा आफ्नै देशमा केही गर्छु भन्ने सोचेर नेपाल फर्किने सोचेर एजेण्टलाई फोन गरें । तर एजेन्टको फोन लागेन । त्यसपछि सयौं पटक फोन गरेपछि म्यानपावरमा कुरा त भयो तर म्यानपावरले नेपाल फर्काउन केहि वास्ता गरेन । त्यसपछि त मैले भागे अर्कै कम्पनीमा जाने निधो पनि गरें ।

त्यहीबिचमा नलाङ पात्लेमा सुरक्षित आप्रवासन परियोजना अन्र्तगत आवाज अभियान नेपाल धादिङले सञ्चालन गरेको विद्यालय अभिमुखीकरण कार्यक्रममा रश्मी गुरुङले मेरो समस्याबारे जानकारी गराउनुभएछ ।

काम गाह्रो भएकाले कम्पनी छोडेर भाग्न लागेको कुरा पनि सुनाउनुभएछ । त्यसपछि, कम्पनी छोडेर नभाग्न आग्रह गर्दै आवाज अभियान नेपालबाट मेरो श्रीमतीलाइ फोन गर्नभएको रहेछ । त्यसो गर्दा झन् समस्या बढ्ने भएकाले रोक्नुपर्छ भनेपछि मेरो श्रीमतीले मलाई त्यो कुरा फोन मार्फत भनिन् ।

त्यसपछि म त्यहीँ बसें । त्यसपछि आवाज अभियान नेपाल र सूचना तथा परामर्श केन्द्र धादिङको पहलमा १८ महिनापछि म नेपाल फर्किएँ । अब त विदेश जानै नपरोस जस्तो लागिरहेको छ । जानै पर्‍यो भने जाने देशको वातावरण आफूले गर्ने काम अनि तलबको बारेमा राम्रोसँग बुझरे जाने, एजेण्टको भर नपर्ने र सिप सिकेर जानुपर्ने रहेछ ।

केही समस्या पर्‍याे भने नभाग्ने बरु समस्या समाधान गरिदिने संस्थाहरुलाई भन्नुपर्ने रहेछ भन्ने बुझेको छु । अनि विदेश जानेहरुलाई म त यी सबै कुरा बुझेर मात्रै जान सुझाव दिन्छु ।

(अमृता बस्नेतले गरेको कुराकानीमा आधारित)

%d bloggers like this: