​आजको वसीवियाँलो !

 


यदि देवताहरूसँग दैवी शक्ति हुन्थ्यो भने आफ्नो पुरानो थातथलो छोडेर फिरन्ते जीवन विताउँदै उनीहरू किन भारतीय उपमहाद्वीपमा प्रवेश गरे होलान ? सिन्धु घाँटीमा प्रवेश गरे पछि दैवी शक्तिका सामू वसीभूत भएर भारतका रैथानेहरूले सप्रेम किन आफ्नो अस्तित्व देवताहरूलाई बुझाएनन होला ? निकै लामो हार जीत रस्साकस्सी दाउपेच र तिकडमपछि मात्रै उनीहरूले अनार्यहरूलाई हराउँन सके होलान ?आर्यहरूको साम्राज्य फैलिने क्रममा भारतीय उपमहाद्विपका कति आदिवासीहरूको रगत बग्यो होला ? कति पूरातात्विक संरचना नष्ट भए होलान ? कति अल्पसंख्यक जाति  तिनका भाषा र संस्कृति सँधैका लागि लोप भए होलान ? कति लामो भेदभाव ,प्रताडना र उत्पीडनपछि कैयन अनार्यहरूले आर्य-हिन्दूहरूका मान्यताहरूलाई अपनाए होलान ?

आर्य हिन्दूहरू सरासर दक्षिण भारततिर छिर्न नसकेर किन मूलत: अहिलेको उत्तर प्रदेशतिर आएर जमे होलान  र भएभरका देवी देवता त्यही जन्मे होलान ? भारतीय कट्टर हिन्दूवादीहरूले रामको राज्य अयोध्यालाई भारतको राजधानी किन नवनाएको होला ? मेरो मनमा यस्ता प्रश्नहरू काँडा उम्रेजस्तै उम्रने गर्छन .

हुनलाई  जन्मको हिसावले म पनि आर्य हिन्दू हुँ .आर्य हिन्दू हुनुको नाताले आफ्ना पुर्वजले इतिहासमा गरेका राम्रा काम र नराम्रा कामको वारेमा समिक्षा गर्नु मेरो कर्तव्य पनि हो .हाम्रो समाजमा प्राय वनिवनाऊ इतिहास पढ्ने चलन छ, रेडिमेड कपडा लगाएजस्तै .ती इतिहास लेख्नेक्रममा केही वेइमानी भएको रहेछ भने हामी स्वत: भ्रमका शिकार हुन्छौं .प्राय इतिहास जित्नेहरूले लेख्ने गर्छन .जसरी अहिले विश्वको इतिहास लेख्ने जिम्मा अमेरिकालाई दिने हो भने उसले अमेरिकनहरूलाई जिसस क्राइस्टका सवैभन्दा ठूला भक्तको रुपमा चर्चा गर्ने छ

. सपनामा जिससले हरेक अमेरिकीलाई अमेरिकाको विरोध गर्ने सवै देश र सवै मानिसलाई मार्न अह्राएको कुरा लेख्ने छ. अमेरिका र उसका दलालहरू वाहेक सवैलाई सैतान भन्दै उनीहरूलाई जुनसुकै क्रुरता वा छलकपटबाट सिध्याउँन जिससले अन्तिम निर्देशन दिएको कुरा लेख्ने छ .आजको विश्वले अमेरिकासँग हाऱ्यो भने भोलि यो धरतीका मानिसले त्यही गलत कुरा पढ्ने छन र सोझा सिधाले विश्वास पनि गर्ने छन .जसरी सपनामा पृथ्वी नारायणलाई माता मनकामनाले राज्य विस्तार गर्न निर्देशन दिएको र पृथ्वी नारायणले उनको व्यक्तिगत सनकमा नभएर मनकामनाको निर्देशन पालना मात्र गरेको भन्ने अर्थ लाग्ने गरी काइते कुरा लेखियो र हामी कैयन हो रहेछ भनेर पत्याउँछौं .

भारतीय उपमहाद्विपमा पनि पक्कै त्यही भयो .हिन्दू आर्यहरूको महिमा मण्डन गर्न वेद लेखियो पुराण लेखियो .रामायण मनुस्मृति कृष्ण चरित्र र देवी भागवत लेखियो .अनि ति ग्रन्थ काव्य र महाकाव्यहरूलाई यसरी धर्मसँग जोडेर लादियो कि हरेक मानिसले त्यो पढ्नै पर्ने , त्यो वाहेक तरिकाले सोच्नै नपाइने र समग्र जीवन समाज र राज्य नै तिनै शास्त्रका मत अनुसार चल्नु पर्ने बनाइयो .यसरी हजारौं वर्ष राज्यले जवर्दस्ती गर्दा गर्दा अव त हामी यति अभ्यस्त भैसक्यौं कि हाम्रो सोच्ने ढर्रा नै बदलियो .इतिहासका कैयन वैभवहरू माटो मुनी पुरिए र त्यो ठाउँमा नयाँ चिजहरू खडा भए .मानव जातिको आजसम्मको इतिहास मूलत संघर्ष नै संघर्षले भरिको इतिहास हो .

नेपालमा पनि गोरखाका महत्वाकांक्षी राजा पृथ्वी नारायणलाई कोदे राजाबाट धनी राजा हुने रहर लाग्यो .उनी त्यो समयका अरुभन्दा बढी जोशिला चतुर र महत्वाकांक्षी पक्कै थिए .नेपालमा सामन्तवादको विकासको लागि र अंग्रेजसँग टक्कर लिन पनि एउटा केन्द्रीकृत राज्यको बस्तुगत आवस्यकता टड्कारो थियो  तर त्यो कामको लागि लडाइँभन्दा बाहेक विकल्पको पनि प्रयोग गर्न संभव थियो .यो विषयमा अलग अलग राजाहरूसँग वार्ता र संयुक्त मोर्चा बनाउँने र अंग्रेजसँग मिलेर लड्ने प्रस्ताव अघि बढाउँन संभव थियो .तर त्यसो भएको देखिएन .वरु उल्टो छलछाम षडयन्त्र र क्रुरताको प्रयोग गरी गोरखा जत्तिनै सार्वभौमसत्ता सम्पन्न अरु राज्यमाथि हमला भयो

.जित हार भयो र अन्तत केही हदसम्म राज्यको विस्तार पनि भयो .नेपाल भन्ने शव्द अमूर्त शव्द थियो .साँच्चै भन्ने हो भने काठमाण्डौ खाल्डो मात्र नेपाल हो .तर गोरखाली सेना टिस्टा कांगडा र गंगासम्म पनि पुग्यो जुन कहिले नेपाल थिएन .अव यसलाई नेपाल एकीकरण भन्ने ? टिस्टा कांगडा र गंगासम्म कहिलै पनि नेपाल नभएको र हालको नेपालभित्रका राज्यहरू  नेपालभित्रका स्वायत्त राज्यहरू नभएर बेग्ला बेग्लै सार्वभौमसत्ता सम्पन्न राज्यहरू भएकोले पृथ्वी नारायणले सुरु गरेको अभियान नेपालको #एकीकरण नभएर यथार्थमा #राज्य विस्तार नै थियो र त्यो गोरखा राज्यको विस्तार नै थियो .राज्य विस्तारको क्रममा अलग राज्य र त्यहाँका नागरिकहरूमाथि दुश्मन देशका नागरिकलाई गर्ने व्यवहार गरियो र त्यो अन्यायपूर्ण भयो

.२१ औं सताव्दिको आजको स्वतन्त्रताको युगमा त्यो समय उत्पीडनमा परेका र आज पर्यन्त हेला होचोको शिकार भएका पुरानो गोरखा राज्यभन्दा बाहिरका जनताले इतिहासमा आफूमाथि भएको उत्पीडनको न्याय खोजेका छन .उनीहरू प्राय कसैले पनि २५० बर्ष पछि फर्केर वाइसे तौविसे राज्यको माग गरेका छैनन र जुन संभव पनि छैन .पहिचान सहितको संघीयता त्यही पृथ्वी नारायण र उनका साखा सन्तानले आजको नेपाल बनाउँने क्रममा गरेका गल्तिहरूको सुधार हो .गल्तिहरूलाई समयानुकूल सुधार गरेर र इतिहासका गल्तिहरूप्रति माफी मागेर मात्रै नयाँ एकता हुन संभव छ .भैसीलाई त पुरानै दाम्लाले बाँधिराख्न सकिन्न .एक दिन दाम्लो मक्किन्छ र चुडिन्छ भने मानिसलाई एक जातिको एक राज्यको दाम्लोले बाँधेर हामीले नयाँ नेपाल कसरी निर्माण गर्न सकौंला र ? एतापट्टि पनि हामीले विनम्रतापूर्वक निधार खुम्च्याउँने हो कि ?

२०७३/०६/२७

ढल्को

received_697092480452677 ​आजको वसीवियाँलो !

About lchapagain4@gmail.com 746 Articles
CEO AT CHHEPARO.COM